• २०७७ जेष्ठ २३, शुक्रबार
  • |
  • Friday 5th June 2020
  • मेरो पहिलो महिनावारी

    १४ कार्तिक २०७४, मंगलवार १२:४२

    — दुर्गा सापकोटा/

    एक साँझ म हिन्दी फिल्म  “बेगम जान” हेर्दै थिएँ । फिल्मको कुनै भागमा पुग्दा बिद्या वालनको एउटा वाक्यले चसक्क घोँच्यो । “हमे महिने गिन्ना आता हे साप,  हरवार साला ’लाल’  करके जाता हे ।” त्यो वाक्य मेरो जिन्दगी थियो ।

    मैले सानोमा स्कुल पढ्दै गर्दा, सुदुर पश्चिमको छाउपडी प्रथाको बारेमा धेरैपल्ट सुने र पढेँ । तर शहर र विकसित भनिने नेपालको अन्य भागमा पनि सुदुर पश्चिमको छाउपडी प्रथा कै झल्को दिने गरी महिनावारीसँग जोडिएको कु–प्रथा छ भनेर बुझ्न किशोरी हुँदै गर्दा म आफैले भोग्नु पर्यो ।

    पहिलो पल्ट महिनावारी हुँदाको पिडा र त्यो भन्दा धेरै डर सम्झिएर म अझै पनि निसास्सिन्छु । मलाई याद छ,  पहिलो पल्ट महिनावारी हुँदा म आफ्नै घरमा बस्न पाईन । भोली पल्ट परिक्षा थियो । महिनावारी भएको थाहा भएपछी मध्यरातमै घरबाट निस्कनु पर्ये । मैले आफ्नो घरको धुरी र बुवा एवं दाजुभाइको अनुहार हेर्नु हुँदैनथियो । यदि हेरेँ भने, मेरो घर, परिवार र समाजको आँखामा त्यो सबैभन्दा ठूलो पाप थियो । त्यो पापको परिभाषा मैले अहिलेसम्म बुझ्न सकेकी छैन । किशोरी मनमा यती नराम्रोसँग त्यो कुरालाई गाढियो कि त्यो डरको चङ्गुलबाट बाहिर निस्किन मलाई बर्षौँ कुर्नु पर्यो ।

    जब म नर्सिङ पढ्न सुरु गरेँ,  मैले बल्ल आफूलाई बिश्वास दिलाउन सकेँ कि महिनावारी प्राकृतिक बरदान हो । यो कुनै पाप र सँस्कारसँग जोडिएको कुरा होईन । पहिले महिनावारिको समय छलेर घरमा आउने गर्थेँ,  ता कि महिनावारीबाट आफूलाई छल्न पाईयोस । तर विस्तारै बिद्रोह गर्दै गएँ ।

    मैले भोगेको समाजमा समस्या हामी नारी भित्रै छ । मेरो बुवालाई भन्दा समस्या मेरो आमाहरुलाई थियो । शायद उहाँले मैले भन्दा सयौँ गुँणा कठोर जिन्दगी जीउनु भएको थियो । तर त्यो पीडाले उहाँहररूलाई बिद्रोह र परिवर्तनको चेतना भन्दा पनि दिमागमा अन्धविस्वासलाई अझ नमेटिने गरी गाडी दियो । एउटा युग सकियो । परिवर्तन त आयो तर जति आउनुपर्ने थियो त्यो आउन सकेन ।

    मैले अझै पहिलेदेखि आफुलाई पापको भ्रमबाट मुक्त गर्न सक्थेँ होला, यदि पहिले देखि नै यसको बारेमा जानकारी पाएकी हुन्थेँ । मलाई बर्षौँ कुर्नुपर्ने थिएन आफूलाई पापको चङ्गुलबाट मुक्त गर्न । अहिले सबैको सहयोग छ । मैले आफुलाई कतै रोक्नु पर्दैन । भान्छाकोठा, पूजाकोठा,  आफ्नो दैनिक जिन्दगी सबै । मलाई धर्म र संस्कार सिकाउने समाज भन्दा अगाडि मलाई सहयोग र साथ दिने परिवार र जीवनसाथी छ । अझ सबैभन्दा अगाडि मेरो आफ्नो आत्मबिस्वास छ । मेरो नजरमा महिनावारीको बेला शारीरिक, मानसिक र सामजिक  हिसाबले जुन यातना दिइन्छ त्यो नै पाप हो ।

    महिनावारी र महिला स्वास्थको कुरालाई स्कुल शिक्षाबाटै अझ प्रभावकारी बनाउन आवस्यक छ । कमसेकम स्कुलमा हामीले यसको बिषयमा खुलेर बहस गर्न सक्ने अवस्था आएको भए,  आँखामा त्राश बोकेर स्कुलको बेन्चको कुनामा च्यापिएर बस्नु पर्ने थिएन ।  पछिल्लो समय बहसमा आएको ’स्कुल नर्स’ पनि यसको लागि एउटा महत्वपूर्ण समाधानको बाटो बन्न सक्छ ।

    मैले कति धेरै पढेको र महिला स्वास्थ्यमा बहस गर्ने शिक्षित दिदीहरु देखेको छु । जसले आफ्नो घरमा महिनावारी बार्नुहुन्छ । मैले वहाँहरूलाई यसबारे सोद्धा, हामी धेरै बार्दैनौँ, अलिअली मात्रै बार्छौँ भन्नु हुन्छ ।’  तर बिडम्वना मैले त्यो …अलिअलि’ को परिभाषा आजसम्म बुझ्न सकेकी छैन, न त वहाँहरुले नै बुझाउन सक्नु भएको छ ।

    मैले कती धेरै साथीहरु देखेकि छु,  जो नेपाल बाहिर बस्छन । बाहिर उनीहरु महिनावारी बार्दैनन । उनीहरु यो प्राकृतिक बिषय हो भन्ने कुरामा बिश्वस्त छन । तर बिडम्वना नेपाल फर्किएको बेला उनीहरु भित्र लुकेको …पाप’ को चिन्ता फेरि फर्किएर आउँछ र महिनावारी बार्न थाल्छन  । कमसेकम घरमा बहस गर्नु र परिवर्तन गराउनु । होईन भने आफुले बारेर भर्खर हुर्किँदै गरेका किशोरीहरुको दिमागमा गलत नजिर किन स्थापित गर्नु <

    महिनावारी भएर ऋषिपञ्चमीमा आफुलाई शुद्ध गराउने गरी हामीले कुनै पाप गरेका छैनौँ । पहिले आफुसँग बिद्रोह गरौँ, त्यस पछी आफ्नो परिवारसँग । समाज परिवर्तनशिल छ, किनकि हामी आफै समाजको हिस्सा हौँ ।

    तपाइको मत
  • भिडियो सामाग्री