• २०७६ मंसिर २५, बुधबार
  • |
  • Wednesday 11th December 2019
  • असल अभिभावन शिक्षाका सन्दर्भमा विद्वान लरेन्सका दश सिद्धान्तहरू

    १४ कार्तिक २०७६, बिहीबार ११:१५

    १.   आफ्नो बच्चालाई  के भएको हेर्न चाहानु हुन्छ र तपाइँको व्यवहार चाहिँ  कस्तो छ ? किनकि बच्चाहरूले त तपाइँले  भन्नुभएको भन्दा पनि गरिरहेको कुरालाई नक्कल गर्दछन् प्रत्यक्ष अप्रत्यक्ष त्यसको प्रभाव परिरहेको हुन्छ । तपाईको नराम्रो व्यवहारको नक्कल गरेबापत गाली गर्ने वा सजाए नदिनुहोस बरु एकछिन् आफ्नै नराम्रा व्यवहारहरू केलाउनुहोस र सच्नुहोस कि बरु “म चाहिँ के भएको होला ?

    २.   बच्चाहरूले हरहमेसा अभिभावकको मायाको अपेक्षा गरिरहेका हुन्छन् र बच्चलाई माया गर्नु भनेको अभिभावकले सञ्चित गरेको सम्पत्ति जस्तै हो । पिट्ने वा गाली गर्ने काम माया कै खातिर भएपनि गर्नु हुँदैन । असल अभिभावकका लागि त्यो पटक्कै सुहाउने काम हैन । धेरै भन्दा धेरै माया गर्नु चाहिँ धेरै असल अभिभावकको राम्रो काम हो । माया गरेको नाममा गाली वा हप्काईदप्काई गर्दा पछि त्यसको परिणाम पनि नराम्रो नै हुँदै आउँदछ । बालबालिकालाई माया गर्नु एक किसिमको मानवीय धर्म हो र बालबालिकाले माया पाउनु बालअधिकार हो ।

    ३.   बालबालिकाको लागि पर्याप्त समय दिन सक्नु अभिभावकको लागि निकै कठिन काम पनि हो, त्यसैले समय समयमा उनीहरूका लागि दिइने समयका बारेमा पुनर्विचार गरिरहनु पर्दछ र समयको व्यस्थापन पनि गरिरहनु पर्दछ । त्यसका लागि अभिभावकहरू भौतिक रूपमा मात्र नभई मानसिक रूपमा पनि बालबालिका प्रति समर्पित भएको हुनुपर्दछ । बालबालिकाका लागि दिइने समयलाई पहिलो प्राथमिकतामा राख्नुपर्दछ । अभिभावकले आफ्ना धेरै कुराहरू बालबालिकाका लागि त्याग्न सक्नुपर्दछ, किनकि बालबालिकाको आधारभूत आवश्यकता पूरा गर्नु अभिभावकको दायित्व हो । नुहाई–धुवाई गराउनु, विद्यालयमा दिएको गृहकार्य (होमवर्क) समाधान गर्नमा सहयोग गर्नु, मनपरेको खाना खुवाउनु, खेलौनाहरूको व्यवस्था गरिदिनु आदि काम बालबालिकाका लागि दिएको समय अन्तर्गत पर्दैनन् । ती कामहरू त अभिभावकहरूले दैनिक रुपमा गर्नै पर्ने काम भित्र पर्दछन् । अभिभावकहरूले त्यसबाहेक थप समय उनीहरूको लागि आनन्द  (मनोरञ्जन) गराउन, घुमफिर गर्न, ज्ञान र सीप तथा क्षमता बढाउन, असल संस्कार सिक्ने वातावरण मिलाउन आदिका लागि दिने समय चाहिँ बालबालिकाका लागि दिएको सही समय हो । यसका लागि कति अभिभावकहरूले कति समय दिएका  हुन्छन् ?

    ४.   शारीरिक तथा मानसिक विकास अनुसार बालबालिकाहरूसँग अभिभावकले गर्ने व्यवहारमा पनि परिवर्तन गरिरहनु पर्दछ । बालबालिकाहरूले कुन उमेरमा कस्तो व्यवहार देखाउँछन् र हामीले गर्ने कस्तो व्यवहार उमेर अनुसार कस्तो चाहिँ उपयुक्त हुनसक्दछ ? मानौं, ३ वर्षको बालबालिकाले प्रायः ‘नाई’ मात्रै भन्ने गर्दछ, उसलाई चर्पीमा नै दिसा गर्ने बानीको विकास गर्न कसरी सिकाउने ? अनेकौँ जिज्ञाशाहरू हुन्छन, यस्तो बेलामा अनेकौं प्रश्नहरू गर्दछन तर धेरै जिज्ञाशा राख्दा प्रायः अभिभावकहरू झर्कने र गाली गर्दछन् । बच्चाहरूसँग झर्कने र गालीगर्ने अभिभावकको अत्यन्त खराब आचरण भित्र पर्दछ । उनीहरूको बौद्धिक विकासका लागि पर्याप्त मात्रामा कुराकानी गर्नुपर्दछ । बच्चाहरू स्वभाविक रुपमा जिद्धी पनि गर्दछन् । उनीहरूको जिद्धीबाट वाक्क हुने र पन्छने वा दबाब दिएर अभिभावकले आफ्ना कुरा चाहिँ उनीहरूको भावना विपरित जबरजस्ती स्वीकार्न लगाउन मिल्छ र ? मिल्दैन । अभिभावकको त्यस्तो व्यवहारले बिस्तारै उनीहरूलाई चाहिँ अभिभावक देखि वाक्क लाग्न थाल्दछ र बिस्तारै अभिभावकको कुनै पनि कुराहरू प्रति बेवास्ता गर्न थाल्दछन् । त्यस्ता व्यवहारकै कारण बच्चाहरूमा तनाव बढ्न सक्दछ । जसले गर्दा उनीहरूमा कामप्रति अल्छि गर्ने, सुतिरहने, अह्राएको भन्दा फरक काम  गर्न मन पराउँने जस्ता बानीको विकास हुनसक्दछ । अभिभावक प्रतिको वितृष्णाका कारण घरभन्दा बाहिर नै समय बिताउन मन पराउन थाल्दछन् । मानसिक तनावकै कारण बिस्तारै बिस्तारै विद्यालयमा हुँदा पनि सिकाइमा समस्या आउन थाल्दछ । यस्तो भएपनि आनीबानी सुधार्न दबाब दिन हप्काइदप्काई गर्नु, कराइरहनु झनै उपयुक्त हुँदैन । त्यसका लागि बालमनोविद परामर्शकर्ता वा उनीहरू ले मनपराउँने मानिसहरू  मध्ये कसैको सहयोगमा उनीहरूले भोगेको समस्याहरू थाहा पाउनु पर्दछ  । अनि, मैत्रीपूर्ण तरिकाले बिस्तारै बानीमा सुधार गराउन सकिन्छ । त्यसका लागि विशेष योजना बनाइरहनु पनि पर्दैन । के केमा परिवर्तन आयो भन्ने कुराको ख्याल गर्नु आवश्यक छ । किनकि, त्यही परिवर्तनको प्रशंसा गर्दै नयाँ परिवर्तनका लागि प्रेरित गर्दै लैजान सजिलो हुन्छ । परामर्शकर्ताको सहयोग लिइएको छ भने उसको सल्लाह बमोजिम बच्चाहरूसँग व्यवहार गर्नुपर्दछ ।

    ५.   उनीहरूको काम वा जिम्मेवारीहरू अनुसा समय तालिका निर्धारण गर्दा उनीहरूको सहमतीमा बनाउन आवश्यकछ । अभिभावकले ती नियमहरू  कार्यान्वयन गराउने होइन बरु कार्यान्वयन गर्न सहयोग गर्ने हो । किनकि, अभिभावक सधैँ बच्चासँगै भइरहन सम्भव नहुन सक्दछ । कार्यतालिका अनुसार जिम्मेवारीमा अभ्यस्त हुन प्रेरित गरिरहनु पर्दछ । किनकि, बच्चाहरू हुर्कदै गरेको समयसँगै जीवनोपयोगी सीपको व्यवस्थापनमा ध्यान पुगेन भने पछि उनीहरूलाई समयको व्यवस्थापन गर्नका लागि, उचित निर्णय लिन र समयअनुसार चल्न निकै कठिन पर्नजान्छ । अभिभावकहरूले उनीहरूको व्यवहार परिवर्तन गराउने होइन, सजिलो तरिकाहरू अपनाएर आफैँले परिवर्तन गर्न सिकाउने हो, अर्थात व्यवहार परिवर्तन गराउँनका लागि सहजीकरण गर्ने हो । लरेन्स भन्छन् दिनको चारै प्रहर हरेक अभिभावकसँग तीनवटा प्रश्नको उत्तर जतिबेला पनि हुनुपर्दछ ।

    १) मेरा छोराछोरीहरू  यतिबेला कहाँ छन् ?

    २) मेरो छोराछोरीहरू  कोसँग छन ?

    ३) मेरा छोराछोरीहरू  के गरिरहेका छन् ?

    यदि यी प्रश्नहरूको ठीक र चित्तबुझ्दो उत्तर तपाइँसँग हुँदासम्म नियमको राम्रो व्यवस्थापन भएको र राम्रो नियम बनाएको ठहरिने छ ।

    बच्चाहरूको कतिपय स–साना कामको व्यवस्थापन गरी साध्य पनि हुन्न र उनीहरू आफैंलैं गर्न सक्ने किसिमका छन् भने अभिभावकले गरिदिन पनि हुन्न किनकि स्वावलम्बन हुन आफ्नो काम आफैं गर्ने बानीको विकास गराउनु पर्दछ । उनीहरू आफ्नो  समय तालिकामा नै छन् भने भने बाँकी कामको लागि उनीहरू आफैँले नियम बनाउन र लागु गर्न प्रेरित मात्रै गर्नुहोस् । असहज भए सहजीकरण गर्नुहोस् तर हस्तक्षेप चाहिँ कहिल्यै नगर्नुहोस् ।

    ६.   बच्चाहरूको हरेक कामको सफलताका लागि स्वपरिचालन र संयमताको आवश्यकता पर्दछ । स्वनिर्णय गर्ने क्षमताको विकास गराउन प्रेरणा हुनेगरी सिकाइदिनु स्वाभाविकै हुन्छ तर, आत्मनिर्भरताका लागि स्वनिर्णय गर्न अभिभावकले धेरै दबाब दिनुहुँदैन । उमेरको विकाससँगै आत्मनिर्भरताका लागि स्वनिर्णय गर्न दिन वा सिकाउनुपर्दछ किनकि यो मानव स्वभावको एउटा महत्वपूर्ण अंश हो ।

    ७.   बच्चाहरूका लागि अभिभावकले आफ्नो भनाइ र व्यवहारमा बेलाबेलामा बदलिरहनु हुँदैन यन्यथा बच्चहरूले ठ्याक्कै त्यसैको सिको गर्न थाल्नेछन् वा अभिभावक प्रति भ्रम सिर्जना हुन्छ र विस्तारै अभिभावकका कुरामा विश्वास गर्न छाड्छन । बच्चाहरूको आफ्नै पनको अनुशासन के हो भनेर सधैं हेक्का राख्नुपर्दछ । त्यसो भएमा मात्र बच्चाहरू प्रति जहिले पनि उस्तै र सहज व्यवहार गर्न सकिन्छ र उनीहरूले पनि त्यसलाई सजिलै स्वीकार्दछन् । तर, यसको अर्थ सबै कुरामा सधैं उस्तै तरिकाको व्यवहार देखाउने पनि होइन, मात्रै पारिवारिक संस्कार र मान्यताका आधारमा अभिभावकको व्यवहार देखिनुपर्दछ । अभिभावकले आफुसँग एकैनासका व्यवहारहरू के के छन भनेर बेलाबेलामा आफ्नै पुनरावलोकन गर्नुपर्दछ । बाल विकासको अवस्था हेरेर आवश्यकता अनुसार व्यवहारका कुनै कुनै कुरामा परिवर्तन पनि गर्नुपर्ने हुन्छ तर विना सुझबुझ चाहिँ गर्नुहुँदैन । किनकि बालबालिकाले तपाइँको व्यवहार प्रति छेपाराले रङ फेरेको जस्तो ठान्न सक्दछन् ।

    बाल विकास अनुसार अभिभावकले  आफ्नो व्यवहारमा परिवर्तन गर्दै जान किन आवश्यक छ र फेरिएको व्यवहारले उनीहरूमा के प्रभाव पर्नसक्छ भनेर राम्रोसँग सोचेर र विश्लेषण गरेर मात्रै परिवर्तन गर्न सकिन्छ । उनीहरूलाई खान्दानी वा आफ्नो हैंसियत देखाएर हैन, आवश्यकता र विवेकका आधारमा सोच र व्यवहारमा आफुलाई परिवर्तन गर्नुपर्ने हुन्छ । ‘हैसियत’ त बच्चा र ठूला मानिस सबैको हुन्छ । बच्चाहरूलाई अभिभावकले हैसियत र शक्ति देखाइयो भने बिस्तारै उनीहरूले त्यसलाई चुनौतीको रूपमा लिनसक्छन् । धेरै अभिभावकहरूका लागि असल व्यवहार अपनाइरहनु सजिलो काम होइन । अनि, व्यवहारमा दोहोरोपना देखिएमा वा लुकाएको व्यवहार कुनै पनि बेला बच्चाहरूले थाहा पाएमा उनीहरू आफ्नै अभिभावकका बारेमा दोधारमा पर्नसक्छन् । त्यसैले अनुशासनमा रहन र व्यवहारमा एकनास गराउन अभिभावकमा आत्मसंयमता/इच्छाशक्ति दह्रो हुनुपर्दछ ।

    ८. बच्चहरूलाई आक्षेपलगाउने, अपशब्दहरूको प्रयोग गर्ने वा अन्य कुनैपनि किसिमका रुखो वा हिंसा लगायत अनेकौ नराम्रा व्यवहारहरू  त्याग्नै पर्ने हुन्छ । बच्चाहरूले चाहे जेसुकै गरुन् तर उनीहरूलाई आफ्नो अगाडि शिर झुकाउन बाध्य पार्नुहुँदैन । आफ्नो छोराछोरीसँग अरू बच्चाको झगडा भयो भन्दैमा राम्रासँग कुरा नबुझी अरूका बालबालिका वा उनीहरूका अभिभावकसँग सिधैं  विविद गर्ने वा झैझडा गर्ने अवस्थामा पनि जानुहुँदैन । बालबालिकाको निहुँमा अभिभावकहरूको झगडाले ‘अन्ततः उनीहरूले पनि झगडा ने सकिरहेका हुन्छन । झगडाका पछाडि लुकेका अनेकौँ कारणहरू हुनसक्दछन् र कहिलेकाहीँ बदलाको भावनाले अभिभावकसँग आफ्ना गल्तीहरू नभनेका पनि हुन सक्छन् । त्यस्तो काम दोहोर्याएर हुन नदिने अनेकौं उपायहरू हुन्छन् । जस्तैः राम्रो र नराम्रो कामका बारेमा छुट्याएर कुरा गर्ने, झगडाले हुने प्रभावका बारेमा वोध गराउने, अन्यायमा परेको भए सम्बादको उपाय अपनाउँने वा सामाजिक सुरक्षाका न्यायिक उपायहरू बच्चालाई बताउने, आदि ।

    ९.   अभिभावकले छोराछोरीहरूप्रति वास्तविकतामा आधारित ज्ञान, शिक्षा र व्यवहारको अपेक्षा गरेका हुन्छन र सो कुरा उनीहरूलाई बारम्बार बताइरहेका हुन्छन् । त्यही अपेक्षा अनुसार अभिभावकले सही किसिमका ज्ञान, अनुशासन र जीवनोपयोगी सीपसम्बन्धी धेरै कुराहरू बताएका  हुन्छन् । जस्तैः  के के गर्ने, के के नगर्ने जस्ता नियमहरू  राखेर, तर प्राय अभिभावकहरूले छोराछोरीहरू किशोरावस्थामा पुगेपछि बताउनै पर्ने जति पनि बताएका हुँदैनन् । जस्तै  १२ वर्षको बालबालिकाप्रति कति अपेक्षा राख्ने ? के कुरा कति बताउने ? कुन कुरालाई कति प्राथमिकता दिने ? आदिका बारेमा अभिभावकलाई हेक्का नहुन पनि सक्दछ । उनीहरूमा आएको शारीरिक र मानसिक तथा संवेगात्मक पविर्तनसँग सम्बन्धित भएर गरिने कुरा वा सिकाउने जीवनोपयोगी सीपका धेरै पक्ष नबताइरहेका हुन सक्दछन् । धेरै अभिभावकहरूले त बच्चाहरू ठूलो हुन थालेपछि आफैँ जान्नुपर्दछ भन्ने धारणा राखेका पाइन्छ । त्यस्तो अवस्थामा चाहेको जस्तो अपेक्षा नपाएपछि नानाभाँतीका घुर्की,अर्ती  र उपदेश र गुनासाहरू व्यक्त गर्न थाल्दछन् । तर, किशोरावस्थामा पुगेका छोराछोरीहरूले भलिभाँतीका गनगन मन पराउँदैनन् ।

    १०. बच्चाहरूले तब मात्रै आफ्ना अभिभावकलाई हार्दिकता पूर्ण आदर गर्दछन् जबदेखि अभिभावकले पनि आफुलाई आदर पूर्वक आफ्ना भावनाहरूको कदर गरेको अनुभूति गरेका हुन्छन् । उपाय त्यही मात्रै हो, किनकि दबाबमा आदर गर्न लगाउँदा त्यसको महत्वका बारेमा महसुस गरेका हुँदैनन् । त्यो औपचारिकता मात्रै हुन्छ । जस्तैः उनीहरूसँग पनि नम्रतापूर्वक बोल्ने गरेमा उनीहरूले पनि अरूसँग नम्रतापूर्वक बोल्न सिक्दछन् । उनीहरूले कुरा गरिरहँदा ध्यानपूर्वक सुनिदिने गरेमा उनीहरूमा पनि त्यस्तै बानीको विकास हुँदैजान्छ । मायालु तरिकाले उनीहरूको जिज्ञाशा प्रति सम्बोधन गरिदिनु पर्दछ । उनीहरूले गर्नसक्ने र गर्न मिल्ने कामका लागि अनुरोध गर्नुपर्दछ । घरका हुन् वा घर बाहिरका, बालबालिकालाई देखावटीका लागि मात्रै तपाइँले राम्रो व्यवहार देखाएर सुख पाउनु हुन्न किनकि समाजमा अरू मानिसहरू प्रति तपाइँले गरेको व्यवहारहरूलाई उनीहरूले नजिकबाट हेरिरहेका हुन्छन् । यदि घरभित्र र बाहिर गर्ने व्यवहारमा फरक पाए भने तपाइँप्रति बच्चाहरू द्विविधामा पर्नेछन् । बिस्तारै उनीहरूले पनि कि त तपाइँकै सिको गर्नथाल्ने छन् कि भने तपाइँप्रति उनीहरूले नकारात्मक धारणा बनाउन थाल्नेछन् ।

    माथि उल्लेखित सिद्धान्तका बुँदा बाहेक अरू पनि अभिभावकीय भूमिकासँग सम्बन्धित बुँदाहरू छन् । जस्तैः

    क) छोराछोरीका साथीहरू आफ्ना घरमा आउँदा उनीहरूको स्वागत र सम्मान गरिदिनु पर्दछ, किनकि त्यस बापत उनीहरूले आफ्नो पनि इज्जत राखिदिएको ठान्नेछन् र त्यसबाट राम्रो संस्कार सिक्न प्रेरणा मिल्दछ ।

    ख) यदि छोराछोरीले राम्रो काम गरेमा उनीहरूलाई त्यति नै बेला स्यावासी दिने र कामको प्रशंसा गर्नुपर्दछ, जसले गर्दा राम्रो काम गर्न प्रेरणा मिल्दछ ।

    ग) छोराछोरीलाई घरमा सधैं सुरक्षित महसुस गराउनुपर्दछ । जस्तैः भूतप्रेत, समाजका कुनै डरलाग्ने मानिस, पुलिस, वा अन्य किसिमका जनावरको डर देखाउनु हुन्न किनकि उनीहरू मानसिक तनावको स्थितिमा  हुनसक्छन्, जुन कुराले बौद्धिक विकासमा नकारात्मक असर पर्नसक्दछ ।

    घ) उनीहरूलाई आफुले गरेको माया र स्याहारको बदलामा ठूलो भएपछि आफुलाई त्यसको ऋण तिरे जस्तै गुण तिर्नुपर्ने भान गराउनु हुँदैन । अभिभावकले माया भन्ने कुरा साट्ने वा ऐँचोपैँचो गर्ने वस्तु जस्तो होइन भन्ने दृष्टिकोण बनाउनु जरुरी छ ।

    ङ) अभिभावकले खाना खाने बेलामा बचचाहरूसँगै बसेर खानुपर्दछ । खानेबेलामा रमाइलो वातावरण बनाउनु पर्दछ । सँगैखादा आत्मिय भावनाको विकास हुन्छ । अलग अलग समयमा खाएको भन्दा अभिभावकसँगै कुराकानी गर्दै खाना खाएका बालबालिकाहरूमा राम्रो व्यहार बढी पाइएको र दुर्व्यसनीमा लाग्ने सम्भावना कम भएको अनुसन्धानहरूले बताएको छ ।

      (अभिभावन पुस्तक बाट साभार)

    तपाइको मत