• २०७६ मंसिर २५, बुधबार
  • |
  • Wednesday 11th December 2019
  • किशोरावस्थाको यौनिक परिपक्वता

    १८ बैशाख २०७५, मंगलवार १७:२२
    • यौनिक डेस्क /

    यौन र यौनिकता मानिसको केन्द्रीय कामना हो । कुरा यत्तिहो कि उमेर अनुसार मानिसको यौनिकतामा परिवर्तनहरू आउँछन । अझै भनुँ, यौनिकतामा आउने परिवर्तन र परिपक्वता किशोरावस्था देखि देखिनेगरी  सुरु भए पनि यससम्बन्धी परिवर्तन  विकासको आधार चाहिँ गर्भावस्था देखि नै हुनथालेको हुन्छ । अनि, जन्मेर शारीरिक विकासको सबैभन्दा पछिल्लो  अवस्थामा यौन तथा प्रजजन् प्रणालीको विकास हुनथालेको हुन्छ ।

    कसरी हुन्छ यौन तथा प्रजनन प्रणालीको विकास ?

    यौन तथा प्रजनन प्रणाली विकास गर्ने विभिन्न किसिमका हर्मनहरूले  हुन । आवश्यकता अनुसारका ती हर्मनहरूको उत्पादन  मस्तिस्क भित्रको हाइपोथालमस र पिट्युटरी नामको ग्रन्थीहरूले गर्छ । ती ग्रन्थीहरूले हर्मनहरू उत्पादन गर्ने कार्यको तयारी अवस्था गर्भावस्थामा मस्तिको विकास हुदै बनिसकेको हुन्छ । समय बित्दै जाँदा अर्थात बाल्यावस्थाबाट हुर्कदै जाने क्रममा पूर्व किशोरावस्थाबाट नै  हाइपोथालमस ग्रन्थीले पिट्युटरी ग्रन्थीलाई हर्मोन उत्पादन गर्न प्रेरित गराउँछ ।  त्यही अनुसारले पिट्युटरी ग्रन्थीले हर्मोन रसायनहरूको उत्पादन गरी त्यसैको सहयोगमा यौन तथा प्रजनन् प्रणालीमा विभिन्न अङ्गहरुको वृद्धि र विकासका भएको हुन्छ ।

    पिट्युटरी ग्रन्थीले उत्पादन गर्ने दुई किसिमका हर्मनहरू ल्युटिनाइजिङ र फोलिकुलर स्टिमुलेटिङले चाहिँ किशोरीहरूको डिम्बासयलाई डिम्ब उत्पादन गर्न, पाठेघरको विकास गर्न, स्तनको वृद्धि विकास गर्न र किशोरहरूको अण्डाकोषको विकास,  लिङ्गको विकास, वीर्य तथा शुक्रकिटको उत्पादन गर्नुका साथै साथै प्रोजेस्टेरोन र एस्ट्रोजेन हर्मनहरूले किशोरकिशोरीहरूको  शरीरमा अन्य भागहरूको पनि वृद्धि र विकास गर्न मद्धत गर्दछ ।  यी हर्मोनहरुलाई नै ‘यौन हर्मोन’ पनि भनिन्छ किनभने यौनिक परिपक्वता ल्याउन यी हर्मोनहरुको नै विशेष भूमिका हुन्छ ।

    किशोरीहरुमा आउने यौनिक परिपक्वताको महत्वपूर्ण सङ्केत त महिनावारी हुनु नै हो भने किशोरहरूको वीर्य उत्पादन हुनु तथा कुनै पनि कारणले वीर्य स्खलन हुनु हो । स्वर परिवर्तन हुनेदेखि स्तन बढ्ने, रौंहरु आउने, छुट्टै किसिमको गन्ड्ढ आउने पसिना निस्कने  काममा पनि यी हर्मनहरूको भूमिका हुन्छ  । किशोरावस्थामा पुग्ने बित्तिकै शरीरको विकास त्यसमा पनि खासगरी पुठ्ठाको विकास चाँडो हुन्छ । किशोरीहरुमा किशोरहरुको दाँजोमा शरीरको वृद्धि–विकास २ वर्ष चाँडो हुन्छ । त्यसैले कतिपय १२ वर्षकी किशोरी र १४ वर्षको किशोरको शारीरिक विकास समान जस्तै देखिएको हुन्छ ।

    शरीरको विकास हुँदा सबै अङ्गहरु एकैचोटि विकास हुँदैनन् । उदाहरणको लागि खुट्टाको वृद्धि गोडा र तिघ्राको भन्दा छिटो हुन्छ । त्यसले शरीरभन्दा खुट्टा लामो देखिन्छ । जसका कारण कहिलेकाँही किशोरकिशोरीहरुमा आफ्नो शरीरको अवस्थाले गर्दा हीनताबोधको अनुभूति गरिरहेका हुनसक्छ । त्यसैगरी उचाइ वृद्धिमा पनि किशोरावस्थामा जति बढेको हुन्छ, त्यही दरमा युवा अवस्थामा बढेका हुँदैन । उचाइ वृद्धिको निर्धारण वंशानुगत गुणमा पनि भर पर्दछ । यसको मतलव किशोरावस्थामा अग्लो होलाजस्तो देखिएता पनि कतिपय किशोरहरू युवा अवस्थामा पुग्दा बढ्न रोकिन पनि सक्छन र सरदर युवाहरूमा उनीहरू केहि होचा देखिन पनि सक्छन ।

    धेरै किशोरीहरुमा ८ वर्षको उमेरदेखि नै स्तनको वृद्धि र विकास हुन सुरु गर्छ । कसैको १२–१३ वर्षको उमेरसम्म पूर्ण विकास भइसक्छ भने कसैको ढिलो भएको पनि हुनसक्छ ।  स्तनको विकासमा पनि एउटाको सानो र अर्कोको ठूलो हुनेगरी विकास भएको हुनसक्छ । कोहि कोहिको चाहि एकै जनाको पनि एउटा स्तन सानो र अर्को चाहि ठुलो भए जस्तो लाग्नसक्छ । स्तनविकासमा एस्ट्रोजन हर्मोन र वंशानुगत गुणको ठूलो प्रभाव रहन्छ । स्तनविकास सँगसँगै योनीको वरिपरि रौंहरु आउने, योनीको आकार बढ्न थाल्ने हुन्छ । महिनावारी सुरु हुँदा पाठेघरको पिन विकास तीव्र गतिले भएको हुन्छ र किशोरावस्था पुरा (१९ बर्ष उमेर) पुरा भइसक्दा मात्र स्तनको विकास पूर्णरूपमा भइसक्दछ ।

    त्यसै गरी किशोरहरूको पनि वीर्य र शुक्रकिटको विकास हुन थालेपछि लिङ्ग र अण्डकोषको विकास तिब्र गतिमा हुन थाल्दछ । संगसंगै यौनाङ्गहरूको वरीपरी, काखी मुनी रौं (जैरे) र मुखमा दाह्री जुँगाको रेखि बस्न शुरू हुन्छ र क्रमश गोडा तथा शरीरका अन्य भागहरूमा पनि कपाल बाक्लो भएर उम्रन थाल्दछ । बोली धोत्रे हुने र हस्तमैथुन गर्न मनलाग्न थाल्दछ ।

    यी  सबै किसिमका विकासका साथै अन्य यौन परिपक्वतामा आउँने परिवर्तनहरूका लागि कतिपयमा भने सामाजिक–आर्थिक स्थिति, भौगोलिक वातावरण, वंशानुगत गुण, गर्भावस्था देखि आमाका साथै बच्चाको लागि पाएको पोषण आदि व्यस्थापन र व्यवहारहरूले प्रत्यक्ष प्रभाव पारेको हुन्छन् ।

     

    तपाइको मत