• २०७६ मंसिर २४, मङ्लबार
  • |
  • Tuesday 10th December 2019
  • चिनियाँ युवतीहरुको भ्रम

    १७ श्रावण २०७४, मंगलवार १६:२६
    • चेतनाथ आचार्य/

    चीनमा एक व्यक्तिले आफ्नी श्रीमती विरुद्ध कुरुप सन्तान जन्माएको भन्दै अदालतमा मुद्दा दर्ता गराए। चियान फङ नाम गरेका ३८ वर्षीय ती व्यक्ति चीनको उत्तरपूर्वी प्रान्त हैलुङचाङका थिए। बिहे गरेको दुई वर्षपछि सन् २००४ मा उनले श्रीमती विरुद्ध सम्बन्ध विच्छेद र क्षतिपूर्तिको मुद्दा दायर गरेका थिए।

    संसारमा हुने अचम्मका घटनाहरु प्रायशः चीनमा हुने गर्छन्। यो घटना पनि त्यस्तै अचम्मको थियो। यो घटनाले चिनियाँ यौनिकताको राम्रो प्रतिनिधित्व गर्दछ। सन् २००२ मा चियान फङले एक निकै सुन्दरी युवतीसँग बिहे गरेका थिए। उनीहरुको बिहे लामो समयको प्रेमपछि नभएर अरुले नै जुराइ दिएको जोडीको आधारमा भएको थियो।

    बिहे गरेको डेढ वर्षमै फङकी श्रीमतीले छोरी जन्माइन्। छोरी जन्माउनुभन्दा अगाडि दम्पत्ति बीचमा निकै राम्रो सम्बन्ध थियो। छोरीको अनुहार देखेर फङ पहिलोपटक नै नराम्ररी झस्किए। उनले छोरीको अनुहार अत्यन्त कुरुप देखे। फङलाई पक्का भयो कि छोरी आफ्नी हैन। श्रीमतीले अरु कुनै पुरुषसँग शारीरिक सम्बन्ध राखेर छोरी जन्माएको आरोप उनले लगाए। फङको आरोपलाई श्रीमतीले स्वीकार गरिनन्। उनीहरु अदालतमा पुगे। अदालतले छोरीको डीएनए परीक्षण गर्न आदेश दियो। डीएनए परीक्षण गर्दा छोरी परपुरुषबाट नभई फङबाटै जन्मिएकी प्रमाणित भयो। फङको आरोपबाट उनकी श्रीमतीले मुक्ति त पाइन् तर कुरुप छोरी जन्मिएको कुरा चाहिँ अझै पनि कुरा रहस्यमै थियो।

    असत्य कुरालाई धेरै दिन लुकाउन सकिँदैन भनेजस्तै फङकी श्रीमतीले लुकाएको अनौठो कुराको पर्दाफास भयो। वास्तवमा उनले जन्माएकी छोरी कुरुप हुनुको कारण उनकै जिन रहेछ। छोरीमा आमाको रुपको वंशाणुगत प्रभाव परेको रहेछ। हेर्दा निकै सुन्दर देखिने फङकी श्रीमती जन्मजात कुरुप रहिछन्। उनको अनुहार, आँखा, नाक, लगायतका भाग कुरुप भएकै कारणले उनले दक्षिण कोरियामा गएर एक लाख अमेरिकी डलर तिरेर प्लास्टिक सर्जरी गरेकी रहिछन्। प्लास्टिक सर्जरीले फङको कुरुप आवरण त छेल्यो तर उनको जिन वंशाणुगत रुपमा छोरीमा सरेर गयो।

    फङकी श्रीमतीले आफ्नो अनुहारको प्लास्टिक सर्जरी गरेको कुरा फङलाई भनेकै थिइनन्। यस्तो सत्य पत्ता लगाएपछि फङले उनीसँग सम्बन्ध विच्छेदको मुद्दा हाले र क्षतिपूर्ति पनि माग गरे। अदालतले दुवै मुद्दामा फङको पक्षमा फैसला गर्‍यो। उनले सम्बन्ध विच्छेद भइसकेकी श्रीमतीबाट एक लाख बीस हजार अमेरिकी डलर क्षतिपूर्ति पाए।

    राम्री देखिनका लागि अनुहारको प्लास्टिक सर्जरी गर्ने चलन चीनमा निकै लोकप्रिय छ। पहिले पहिले यस्तो सर्जरी गर्नका लागि दक्षिण कोरिया, जापान तथा पश्चिममा मुलुक जाने चलन थियो। हिजोआज विभिन्न प्रविधिको विकासले चीनमै सर्वसुलभ भइसकेको छ। तर, यस्तो कस्मेटिक प्लास्टिक सर्जरी निकै महङ्गो पर्छ।

    चिनियाँहरुका आँखा साना र चिम्सा हुन्छन्। चिनियाँ युवतीको पहिलो चाहना प्लास्टिक सर्जरी गरेर आँखा ठूलो बनाउने रहन्छ। त्यसपछि उनीहरु नाक बनाउन चाहन्छन्। त्यसपछि ओठ र अनुहार पूरै बनाउने चलन पनि छ। पैसा कति छ त्यही अनुसार उनीहरु आफ्नो अनुहारको प्लास्टिक सर्जरी गर्दछन्।

    प्लास्टिक सर्जरी गरेर रुप परिवर्तन गर्ने चिनियाँ प्रचलनमा फङकी श्रीमती त प्रतिनिधि पात्र मात्र हुन्। आधुनिकको विकाससँगै चीनमा प्लास्टिक सर्जरी गर्ने चलन निकै लोकप्रिय हुन थालेको छ। हरेक वर्ष प्लास्टिक सर्जरी गरेर चिनियाँहरुले अर्बौँ सम्पत्ति र स्वास्थ्यलाई नष्ट गरिरहेका छन्। कस्मेटिक रुपमा राम्रो देखिनलाई गरिने प्लास्टिक सर्जरी निकै महङ्गो पर्छ अनि यसले मानव स्वास्थ्यमा विभिन्न प्रतिकूल प्रभाव पनि पार्ने गर्छ।

    ‘पंक्षीमा भाले राम्रो मान्छेमा पोथी’ भन्ने चलन चीनमा निकै लोकप्रिय छ। युवतीहरु राम्री देखिनका लागि नै रातदिन तल्लिन हुन्छन्। चिनियाँ युवतीले आफूलाई राम्रो देखाउनकै लागि स्लिम देखिन कम खाने, विभिन्न विज्ञापनमाथि विश्वास गर्ने, पश्चिमा समाजको नक्कल गर्ने, योग गर्ने, जिम जाने आदि गर्दछन्। तसर्थ हिजोआज यस प्रकारका विभिन्न व्यवसायहरु चीनमा फस्टाएका छन्।

    पूर्वीय समाजबाट फुत्किसकेको तर पश्चिमा समाजजस्तो खुला पनि भइनसकेको अवस्थामा चिनियाँ युवायुवतीमा यौनिकता बारे निकै ठूलो भ्रम छ। विशेषगरी चिनियाँ युवतीहरु यौनिकता भ्रमकै कारण सधैँ तनाव र दवावमा रहन्छन्।

    सम्पर्कोलागि chetnath@ymail.com

    (आचार्य चीनको राजधानी बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआई नेपाली सेवामा विदेशी विशेषज्ञका रुपमा कार्यरत छन्।)

     

    तपाइको मत